CLI

नबिल बैंकको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडको ४०औँ वार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ।

बिहीबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आर्थिक वर्ष ०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। समीक्षा वर्ष ०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई चार खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई तीन खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समग्रमा आ.व. ०८०/८१ मा बैंकको वासलातको आकार १५.७६ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५७ अर्ब दुई करोड पुगेको हो।

यसैगरी साधारणसभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ। बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन्।

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए।

Leave Your Comment

Related News