CLI
Global College

निर्माण क्षेत्रमा ४ अर्ब ३६ करोडले घट्यो कर्जा प्रवाह

काठमाडौं । भुक्तानी विवादका कारण निर्माण व्यवसायीहरुले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुले निर्माण कार्य गरेवापत विगतका आर्थिक वर्षहरुमा भुक्तानी हुनुपर्ने ठूलो रकम अझै भुक्तानी नपाउँदा निर्माण क्षेत्रमा विकारल अवस्था सिर्जना भएको बताए । उनले भने जस्तै बैंकिङ क्षेत्रको तथ्यांकले पनि निर्माण क्षेत्रमा कर्जा प्रवाह घट्दै गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुले निर्माण क्षेत्रमा २ खर्ब ११ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ अर्ब ३६ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले निर्माण क्षेत्रमा २ खर्ब १६ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले निर्माण क्षेत्रमा कर्जा प्रवाह बढाउँदा विकास बैंक र वित्त कम्पनीहरुले भने कर्जा प्रवाह खुम्चाएका छन् । चालु आर्थिक वर्षको कार्तिकसम्म वाणिज्य बैंकले निर्माण क्षेत्रमा १ खर्ब ८८ अर्ब ४ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा ६ अर्ब ८७ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सो क्षेत्रमा १ खर्ब ८१ अर्ब १७ करोड रुपैयाँ कर्जा वितरण गरेका थिए ।

चालु आर्थिक वर्षको कार्तिकसम्म विकास बैंकले निर्माण क्षेत्रमा २० अर्ब ८७ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९ अर्ब ९९ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सो क्षेत्रमा ३० अर्ब ८६ करोड रुपैयाँ कर्जा वितरण गरेका थिए ।

चालु आर्थिक वर्षको कार्तिकसम्म वित्त कम्पनीहरुले निर्माण क्षेत्रमा ३ अर्ब ६१ करोड ८० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५४ करोड ७० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सो क्षेत्रमा ४ अर्ब १६ करोड ५० लाख रुपैयाँ कर्जा वितरण गरेका थिए ।

सडक, पुल, भवन, हाइड्रोपावर लगायतका अधिकांश क्षेत्रहरुको विकास गर्नु आवश्यक रहेको छ तर निजी क्षेत्रले त्यसमा लगानी गर्न नसक्दा कर्जा प्रवाह समेत घटेको निर्माण व्यवसायीहरु बताउछन् । सरकारले निर्माण व्यवसायीको भुक्तानी समयमा नगर्ने हुदँँ उनीहरु बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्न डर मान्नु पर्ने अवस्था रहेको व्यवसायीहरुको भनाई रहेको छ । व्यवसायीहरुले ४० अर्ब बढी भुक्तानी बाँकी रहेको बताउँदै आएका छन् । जसमा सडक विभागले मात्र ७ अर्ब बढी भुक्तानी बाँकी रहेको व्यवसायीहरुले बताएका छन् । निर्माण व्यवसायीलाई सरकारले ८ अर्ब भुक्तानी भइसकेको र करिब १० करोड भुक्तानी बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Leave Your Comment

Related News