काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोल कबोल आह्वान गरेको हो । सूचनामा ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने उल्लेख छ ।
ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आइतबार (माघ २१ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । माघ २२ गते सोमबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । ५ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ ।
पछिल्लो पटकको बोलकबोलमा २.९१९८ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ३.०१०० प्रतिशत र सबैभन्दा कम २.१९८१ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
यसअघि माघ १४ गते कार्यालयले ट्रेजरी बिल सार्वजनिक गरेको थियो । २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ५ अर्ब बराबरको ट्रेजरी बिलका लागि ६ अर्ब ६५ करोड बराबरको बोल परेको थियो । जसमा औषत छुटदर २.९१ प्रतिशत रहेको थियो ।
सो भन्दा अघि ९१ दिनका लागि ८ अर्ब १० करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गरिएको थियो । जसमा १५ अर्ब ४८ करोडको बोल परेको थियो । जसको औषत छुटदर २.८६ प्रतिशत रहेको थियो । कार्यालयले १८२ दिनको लागि ५ अर्बको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । जसमा ९ अर्ब ७५ करोडको बोल परेको थियो । अजसको औषत छुटदर २.९० प्रतिशत रहेको थियो । ३६४ दिनका लागि ११ अर्बको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । जसमा २० अर्ब ८० करोडको बोल परेको थियो । जसको औषत छुटदर २.९८ प्रतिशत रहेको थियो ।
ट्रेजरी बिलको छुटदर ३ प्रतिशत भन्दा पनि तल रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।



