शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा १ खर्ब १८ अर्ब पुग्यो

काठमाडौं । बजार, घरजग्गा, उत्पादनमुलक क्षेत्र लगायतका क्षेत्रहरु चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाहदरमा वृद्धि गरेको छ । व्यापारिक क्षेत्र, आयात व्यापार, घरजग्गा क्षेत्रमा कर्जा माग न्यून भए सँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको विज्ञहरु बताउछन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले पछिल्लो समयमा मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह ३८.२७ प्रतिशतले वृद्धि गरेका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जास्वरुप १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ वितरण गरेका छन् । जुन गत वर्षको सोहि अवधिको तुलनामा ३८.२७ प्रतिशत अर्थात् ३२ अर्ब ८० करोडले शेयर धितो कर्जा प्रवाह बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा वापत् ८५ अर्ब ७० करोड रुपैयाँ वितरण गरेका थिए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाहरुको शेयर किन्ने प्रयोजनका लागि शेयर धितो राखी प्रवाह भएको कर्जा मार्जिन प्रकृतिको कर्जा हो । मार्जिन प्रकृतिका शेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको वृद्धिदर रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकले ९६ अर्ब ३९ करोड ४० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २९ अर्ब २६ करोड ७० लाखले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकले ६७ अर्ब १२ करोड ७० लाख रुपैयाँ शेयर धितो प्रवाह गरेको थियो ।

औद्योगिक क्षेत्र, घरजग्गा लगायतका क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले धितो कर्जा प्रवाह बढाएको बैंकरहरु बताउछन् । कर्जा प्रवाह गर्नु वाध्यात्मक अवस्था भएको कारण शेयर धितो कर्जा प्रवाह बढेको उनीहरु बताउछन् । हाल बैंक तथा वित्तीय संस्थासँग निक्षेप संकलन ६८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ भने कर्जा प्रवाह रकम ५४ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको फागुनसम्म विकास बैंकले १७ अर्ब ८७ करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब ९५ करोड २० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको माघसम्म विकास बैंकले १४ अर्ब ९१ करोड ९० लाख रुपैयाँ शेयर कितो कर्जा प्रवाह गरेको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्म वित्त कम्पनीले ४ अर्ब २३ करोड ६० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५८ करोड १० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीले ३ अर्ब ६५ करोड ५० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो ।

मौद्रिक नीतिले शेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फको सीमा खारेज गरी व्यक्तिगततर्फको सीमालाई निरन्तरता दिएको थियो जसले गर्दा बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जामा वृद्धिदर भएको बैंकरहरु बताउछन् । शेयर धितो राखेर दिने कर्जामा संस्थागतर्फ २० करोड रुपैयाँको सीमालाई मौद्रिक नीतिले खारेज गरेको थियो । व्यक्तिगततर्फ शेयर कर्जाको सीमा अधिकतम १५ करोड रुपैयाँ रहेको छ जुन यथावत रहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षाको क्रममा शेयर धितो कर्जा सम्वन्धी व्यवस्थामा कुनै परिवर्तन नगरे सँगै यसअघिको प्रक्रिया अनुरुप उक्त कर्जा वितरण तथा सञ्चालन भएको छ ।

‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने,’ मौद्रिक नीतिमा उल्लेख छ । धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्नर् नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति दिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार