काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले गभर्नर नियुक्तिमा सम्भावना बढेपछि पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
भट्टले गभर्नरको दौडमा आफु अगाडि रहेको आँकलनसहित राजीनामा दिएको अनुमान गरिएको छ। वर्तमान कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्न मिल्ने वा नमिल्ने विषयमा कानुनी अन्यौलता रहेकाले सम्भावित विवाद टार्न उनले राजीनामा दिएको बुझिएको छ।
सूत्रहरूका अनुसार गभर्नर नियुक्तिका लागि प्रमुख राजनीतिक दलहरूबीच सहमति भइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिमा सहमति भएको जानकारी दिएका थिए। बिहीबार देउवाले पनि कांग्रेसले गभर्नरको पद पाउने सहमति भइसकेको बताएका थिए।
सत्ता गठबन्धन टिकाइराख्न गभर्नर पद कांग्रेसलाई दिने रणनीति ओलीले अघि सारेका छन्। डा. भट्ट कांग्रेस सभापति देउवा निकट मानिन्छन्। गभर्नर पद कांग्रेसले पाउने निश्चित भएपछि उनले राजीनामा दिएको बताइन्छ।
डा. भट्ट राष्ट्र बैंकको विशिष्ट श्रेणीमा बसेर काम गरिसकेका छन् र अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। कानुनी रूपमा गभर्नर बन्ने योग्यतामा कुनै अड्चन नरहेकाले उनी अब गभर्नर नियुक्तिको प्रबल दाबेदार मानिन्छन्।
गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल रहेको सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरको रूपमा नियुक्त गर्नेछ।