CLI
Global College

९ बीमा कम्पनीले अझै पुर्याएनन् प्राधिकरणको न्यूनतम चुक्ता पुँजी, यस्तो छ योजना

काठमाडौं । सञ्चालनमा रहेका बीमा कम्पनीहरूमध्ये ९ वटाले नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजी अझै पुर्याउन सकेका छैनन्। तीमध्ये ४ जीवन बीमा कम्पनी र ५ निर्जीवन बीमा कम्पनी छन्। यी कम्पनीहरूमा जम्मा ८ अर्ब ९२ करोड रुपैयाँको पुँजी अभाव देखिएको छ।

न्यूनतम पुँजी पुर्याउन ९ मध्ये ७ कम्पनीले हकप्रद शेयरमार्फत पुँजी वृद्धि गर्ने तयारी गरेका छन् भने १ कम्पनीले बोनस शेयरमार्फत चुक्ता पुँजी बढाउने योजना बनाएको छ। हकप्रद निष्कासनको लागि ६ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् भने एक कम्पनीले बोर्डको अनुमति पनि पाइसकेको छ।

नेपाल बीमा प्राधिकरण (पूर्व बीमा समिति) ले २०७८ चैतमा जारी सर्कुलरमार्फत जीवन बिमा कम्पनीहरूले न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी २०७९ चैत मसान्तसम्म पुर्याउन निर्देशन दिएको थियो। यद्यपि, विभिन्न कारणले हालसम्म ४ जीवन र ५ निर्जीवन बिमा कम्पनीहरू मात्र उक्त लक्ष्यमा पछि परेका छन्। प्राधिकरणले समयसमयमा समयसीमा लम्ब्याउँदै आएको छ।

अन्य कम्पनीहरू पुँजी अभाव समाधानको अन्तिम चरणमा पुगेका बेला दुई सरकारी स्वामित्वका कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको पुँजी वृद्धि योजना भने अझै स्पष्ट देखिएको छैन।

राष्ट्रिय जीवन बीमा कम्पनीको पुस मसान्तसम्मको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ मात्र छ। यस कम्पनीले सर्वसाधारणमा शेयर जारी नगरेको हुँदा नेप्सेमा सूचीकृत समेत छैन।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको छ। कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ थप पुँजी जुटाउनुपर्ने भए पनि अहिलेसम्म स्पष्ट योजना अघि सारेको छैन। कम्पनीको स्वामित्व संरचना अनुसार ३० प्रतिशत शेयर सर्वसाधारण, ४१.०३ प्रतिशत सरकार, १९.३७ प्रतिशत कर्मचारी सञ्चय कोष, र ९.६० प्रतिशत नेपाल बैंकको छ।

हाल नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरूमध्ये ८ कम्पनीले प्राधिकरणको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेका छन्। बाँकी ४ कम्पनीमध्ये ३ ले हकप्रद र १ ले बोनस शेयरबाट पुँजी पुर्याउने तयारी गरिरहेका छन्।

हकप्रद शेयरमार्फत पुँजी जुटाउने तयारीमा रहेका कम्पनीहरूमा प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, र एसियन लाइफ इन्सुरेन्स छन्। तीमध्ये सन नेपाल लाइफले हकप्रद निष्कासनको लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ भने अन्य दुई कम्पनीले अनुमति पर्खिरहेका छन्।

यी ४ जीवन बिमा कम्पनीलाई बिमा प्राधिकरणले तोकेको सीमा पुर्याउन अझै ३ अर्ब २७ करोड २९ लाख रुपैयाँभन्दा बढी पुँजी जुटाउनुपर्नेछ। कतिपय कम्पनीहरूले हकप्रदमार्फत आवश्यक पुँजी नपुगे बोनस शेयरबाट पूर्ति गर्ने योजना बनाएका छन्।

Leave Your Comment

Related News