उच्च जोखिमयुक्त बीमकहरूमाथि निगरानी गरिनेछः प्राधिकरण अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उच्च जोखिमयुक्त बीमकहरूमाथि कडा निगरानी गरिने बताएका छन् । प्राधिकरणको ५७ औं वार्षिकउत्सवलाई संवोधन गर्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।

‘उच्च जोखिम भएका बीमकहरुमा सुपरिवेक्षकीय निगरानी बढाइने छ,’ अध्यक्ष ओझाले भने। न्यून जोखिम भएका बीमकहरुमा लक्षित क्षेत्रमा मात्र बढी केन्द्रीत भई सुपरिवेक्षकीय स्रोत साधनको उच्चतम सदुपयोग गर्न जोखिममा आधारित सुपरिवेक्षण महत्वपूर्ण हुने उनले बताए ।

साथै उनले बीमा क्षेत्रको विकास, सुशासन, पारदर्शिता तथा उपभोक्ता हित संरक्षणका लागि प्राधिकरणले बहुआयामिक रणनीति अपनाएको बताए ।

बीमा ऐन, २०७९ र नियमावली, २०८१ लागू भएसँगै कानुनी अस्पष्टता हटेको र बलियो कानुनी ढाँचा तयार भएको अध्यक्ष ओझाले बताए। उनले विभिन्न निर्देशन, मार्गदर्शन तथा विनियमलाई एकीकृत गर्दै नियमन प्रक्रियालाई थप व्यवस्थित बनाउने कार्य भइरहेको जानकारी दिए।

अध्यक्ष ओझाले बीमाको पहुँच विस्तार, गुणस्तर कायम, जोखिम बहन क्षमतामा वृद्धि, पूँजी बलियो बनाउने तथा सुशासन स्थापनासहित बीमा क्षेत्रलाई प्रतिस्पर्धी बनाउन प्राधिकरण सरोकारवालासँग निरन्तर सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार