CLI
Global College

विदेशी विनिमय सञ्चिति साढे २५ खर्ब बढी पुग्यो

काठमाडौं । मुलुकको विदेशी विनिमय सञ्चिति बढेर साढे २५ खर्ब रुपैयाँ हाराहारी पुगेको छ ।

केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ ।

२०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २०८२ जेठ मसान्तमा रु.२५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २३ प्रतिशतले वृद्धि भई रु.२२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा ५३.२ प्रतिशतले वद्धि भई रु.२९४ अर्ब ९२ करोड कायम भएको छ । २०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

Leave Your Comment

Related News