CLI
Global College

पुटिन : शान्ति सम्झौताभन्दा अघि युक्रेनमा तैनाथ विदेशी सेना ‘वैध लक्ष्य’

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि युक्रेनमा तैनाथ हुने कुनै पनि विदेशी सेनालाई मस्कोको फौजले ‘वैध लक्ष्य’ मान्ने चेतावनी दिएका छन् । युरोपेली नेताहरूले सम्भावित शान्ति रक्षा बलप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको केही घण्टापछि आएको यस अभिव्यक्तिले पुनः तनाव बढाएको छ ।

“यदि त्यहाँ कुनै सेना देखापर्‍यो भने, विशेष गरी अहिले युद्ध जारी रहँदा, हामी मान्छौँ कि तिनीहरू वैध लक्ष्य हुनेछन्”, पुटिनले सुदूर पूर्वी रूसी सहर भ्लाडिभोस्टकमा आयोजित पूर्वी आर्थिक फोरमको प्यानलमा भने । पुटिनले अन्तिम शान्ति सम्झौता सम्पन्न भएपछि मात्र युक्रेनमा शान्ति सेना राख्ने विचार स्वीकार्य हुने बताए ।

उनले मस्कोले युक्रेनमाथि जारी साढे तीन वर्ष लामो आक्रमण अन्त्य गर्ने सम्झौतामा पालना गर्ने विषयमा ‘कसैलाई शङ्का नहोस्’ भने । साथै, उनले रुस र युक्रेन दुवैका लागि विश्वसनीय सुरक्षा ग्यारेन्टी आवश्यक हुनेमा जोड दिए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनका २६ सहयोगीहरूले युद्ध समाप्त भएपछि ‘आश्वासन बल’ का रूपमा सेना तैनाथ गर्ने वा भूमि, समुद्र तथा हावामा उपस्थिति कायम राख्ने वाचा गरेको जानकारी दिएका थिए । उनले पेरिसमा युक्रेनलाई समर्थन गर्ने ३५ देशको गठबन्धन बैठकपछि उक्त घोषणा गरेका हुन् ।

रूसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेको थियो । उक्त आक्रमणअघि करिब आठ वर्षअघि उसले युक्रेनको क्रिमियन प्रायद्वीप अवैध रूपमा कब्जा गरेको थियो । मस्कोले युक्रेनमा नाटो सेनाको उपस्थितिलाई बारम्बार अस्वीकार्य बताउँदै शान्ति रक्षा बलको हिस्सा बन्ने कुनै पनि प्रयासलाई खारेज गरेको छ ।

एपी

Leave Your Comment

Related News