CLI
Global College

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने समेत थप

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय २ दिन थप गरेको हो ।

कम्पनीले भदौ २५ गते निष्काशन बन्द गरेपनि सो दिन देशमा उत्पन्न विषम परिस्थितिले गर्दा दरखास्त लिन बाधा पुगेको र उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको आग्रहलाई ध्यानमा राख्दै भदौ ३० गते र ३१ गते आवेदन दिने अवधि थप गरेको बताएको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १ प्रतिशत अर्थात १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो शेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नबिल बैंकको तानसेन, पाल्पा फरसाटिकर शाखा, रुपन्देही र योगिकुटी शाखाबाट आवेदन दिन सक्नेछन्। उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

Leave Your Comment

Related News