Global College

रास्वपाको समानुपातिकको दौडबाट रामजीले फिर्ता लिए नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा दलिततर्फका उम्मेदवार डा.राजमी रामले आफ्नो नाम स्वेच्छिक रूपमा फिर्ता लिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बन्दसूचीमा नाम समावेश हुनु आफ्ना लागि व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाको प्रतिनिधित्व भएको बताएका छन् । ‘यो केवल मेरो नाम मात्र थिएन, दलित समुदायको सामूहिक आकांक्षा र पहिचान पनि थियो ।’ उनले उल्लेख गरेका छन् ।

तर उनले राजनीतिलाई केवल अवसर प्राप्त गर्ने माध्यमका रूपमा नहेर्ने स्पष्ट पारेका छन् । डा.रामका अनुसार राजनीति त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी हो । यही आत्ममूल्यांकनका आधारमा उनले आफूभन्दा पनि अझै बढी पीडित, अझै कम सुनिएका आवाज संसदभित्र पुग्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् ।

‘यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एउटा ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ ।’ उनको भनाई छ। संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता आफूले नराख्ने भन्दै उनले सामाजिक चेतना, नागरिक आन्दोलन र वैचारिक संघर्षका विभिन्न मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिने विश्वास व्यक्त गरेका छन् ।

डा.रामले दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै समानुपातिक बन्दसूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको स्पष्ट पारेका छन् । उनका अनुसार यो निर्णय पलायन होइन, बरु जिम्मेवारीको नयाँ सुरुवात हो ।

NECO

Leave Your Comment

Related News