CLI
Global College

वैदेशिक रोजगारीका नाममा २८ लाखभन्दा बढी ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई २८ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ताप्लेजुङकी ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमका ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीका ४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोकका ४९ वर्षीय रेशमलाल लामा तामाङ र काठमाडौँकी ४२ वर्षीया निलिमा श्रेष्ठ छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले पीडितहरूबाट मोटो रकम असुल गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये सुनिताले युएई पठाउने भन्दै एक लाख ५० हजार, अभिशेषले माल्दिभ्स पठाउने भन्दै तीन लाख ४० हजार र चेतनारायणले बेलायत पठाउने भन्दै १३ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। त्यसैगरी रेशमलालले अमेरिका पठाउने आश्वासन दिएर नौ लाख र निलिमाले बेलायत पठाउने भन्दै १२ लाख रुपैयाँ लिएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिएका छन्।

Leave Your Comment

Related News