CLI
Global College

७ महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति ३३ खर्ब भन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १२ खर्ब ६१ अर्ब रुपैयाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । माघसम्म विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । २०८२ को माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैायँ रेमिटेन्स आएको छ ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३७ करोडले
बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले बचतमा रहेको हो ।

यता, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । रिपोर्ट अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा ३३ खर्ब ०२ अर्ब ६६ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असारमसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।

२०८२-८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Leave Your Comment

Related News