CLI
Global College

तटस्थतामा अडिग श्रीलङ्का, अमेरिकी प्रस्ताव अस्वीकार

कोलम्बो। हिन्द महासागर क्षेत्रमा बढ्दो तनावबीच श्रीलङ्काले आफ्नो तटस्थ नीतिलाई कडाइका साथ पालन गर्दै अमेरिकी लडाकू विमानलाई देशभित्र राख्ने प्रस्ताव अस्वीकार गरेको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकले शुक्रबार संसद्मा जानकारी दिँदै कुनै पनि पक्षलाई सहयोग पुग्ने खालका सैन्य गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारे। उनका अनुसार अमेरिकाले फेब्रुअरी २६ मा गरेको अनुरोधअनुसार दुई लडाकू विमानलाई मार्च ४ देखि ८ सम्म जिबूटीस्थित आधारबाट मट्टाला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई आठवटा जहाजविरोधी क्षेप्यास्त्र राख्ने योजना बनाएको थियो ।

तर, श्रीलङ्काले आफ्नो तटस्थता कायम राख्न उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताए । उही दिन इरानले पनि भारतबाट नौसैनिक अभ्यास सकेर फर्किरहेका आफ्ना तीन युद्धपोतलाई कोलम्बोमा पोर्ट कल गर्न अनुमति मागेको थियो । राष्ट्रपति दिसानायकले भन्नुभयो, “यदि हामीले इरानलाई अनुमति दिएको भए अमेरिकालाई पनि दिनुपर्ने अवस्था आउँथ्यो, त्यसैले दुवै पक्षप्रति समान दूरी कायम राख्दै निर्णय लिइयो ।”

मार्चको सुरुमा अमेरिकी सेनाले श्रीलङ्काको दक्षिणी तट नजिकै इरानी फ्रिगेट ‘आइरिस डेना’ लाई टारपीडो प्रहार गर्दा कम्तीमा ८४ जना नाविकको ज्यान गएको थियो । श्रीलङ्काली नौसेनाले उक्त घटनापछि ३२ जनाको उद्धार गरेको जनाइएको छ ।

यसैबीच, अर्को इरानी जहाज ‘आइआरआइएस बुसेहर’ लाई भने मानवीय आधारमा श्रीलङ्काली जलक्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको थियो । दुई सय १९ सदस्यीय चालक दलको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई कोलम्बोमा शरण दिइएको बताइएको छ ।

श्रीलङ्काले एकातर्फ आफ्नो प्रमुख निर्यात बजार अमेरिकासँग घनिष्ठ सम्बन्ध कायम राख्दै आएको छ भने अर्कोतर्फ आफ्नो चियाको प्रमुख क्रेता इरानसँग पनि सम्बन्ध सन्तुलित राख्दै आएको छ । यस्तो अवस्थामा बढ्दो क्षेत्रीय तनावबीच तटस्थता जोगाउने नीति नै कोलम्बोको प्राथमिकता बनेको देखिन्छ ।

Leave Your Comment

Related News