RE
Global College

कालीकोटमा पहिलोपटक ‘सिजेरियन’ सेवा सफल

मान्म ।  जिल्ला अस्पतालमा पहिलोपटक ‘सिजेरियन सेक्सन’ (सिएस) प्रविधिबाट एक गर्भवतीको सफल प्रसूति गरिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवतीको चैत ५ गते शल्यक्रियामार्फत सुरक्षित प्रसूति गराइएको हो ।

प्रसूतिपश्चात् आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा सीमित स्रोतसाधनका बीच यस्तो जटिल शल्यक्रिया सम्पन्न गर्नु ठूलो उपलब्धि भएको चिकित्सकहरू बताउँछन् । दुर्गम क्षेत्रमा सिजेरियन सेवा सञ्चालन गर्नु चुनौती पूर्ण भए पनि चिकित्सक टोलीको अथक प्रयासले सफलतापूर्वक प्रसूति गराउन सम्भव भएको जिल्ला अस्पताल कालीकोटका प्रमुख डा रत्नवीर सुनारले बताए ।

“हामीले सिजेरियन सेक्सनमार्फत सुरक्षित रूपमा प्रसूति गराएका छौँ”, उनले भने, “यो यहाँको सन्दर्भमा निकै महत्वपूर्ण उपलब्धि हो ।” उक्त शल्यक्रियामा डा सुनार, डा दर्शन पाण्डे, एनेस्थेसिया असिस्टेन्ट वीरबल चौधरी तथा नर्सिङ टोलीका बबिता ठाकुर, कविता शाही र सहयोगी चन्दा शाहीको सहभागिता रहेको थियो ।

कर्णाली क्षेत्रको दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तारका लागि यो उपलब्धिलाई महत्वपूर्ण कदमका रूपमा लिएको अस्पतालले जनाएको छ । स्थानीयस्तरमै जटिल प्रसूति सेवा उपलब्ध हुन थालेपछि गर्भवतीलाई बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।

NECO

Leave Your Comment

Related News