CLI

दुई सातामा ऊर्जा मन्त्रालयमा ४ हजार २६९ वटा गुनासो प्राप्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई सातामा ४ हजार २६९ वटा गुनासो प्राप्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै जनगुनासोको सुनुवाई र सम्बोधन गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।

श्रेष्ठले गत १३ चैतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । गूनासो सम्बोधन गर्न र विद्युत् सेवासम्बन्धी मन्त्रालयको हटलाइन नम्बर ११५१ लाई परिणाममुखी बनाइएको छ । दुई साताको अवधिमा उक्त हटलाइन नम्बरमा प्राप्त जनगुनासोलाई तत्काल सम्बोधन गरी शतप्रतिशत फर्छ्योट गरिएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा फोन मार्फत ४ हजार २४८ वटा, ह्वाट्सएप मार्फत १४ वटा, इमेल मार्फत २ वटा र हेलो सरकारबाट ५ वटा गरी कुल ४ हजार २६९ वटा गुनासो प्राप्त भएका हुन् । ऊर्जामन्त्री श्रेष्ठले दुई साताको कार्यप्रगति सार्वजनिक गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितासहितको जनसहभागितामूलक विकास होस् भन्ने जनचाहना सम्बोधन गर्ने प्रयत्नमा रहेको बताएका छन् ।

विस्तृत अध्ययनबिनाका नयाँ–नयाँ आयोजना अगाडि सारेर देशमाथि थप वित्तीय दायित्व सिर्जना गर्ने भन्दा रुग्ण र अलपत्र परेका आयोजनालाई छिटो सम्पन्न गर्ने विषयलाई मन्त्री श्रेष्ठले आफ्नो प्रमुख कार्यदिशा बनाएको उल्लेख गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइको क्षेत्रलाई बलियो नीति र स्पष्ट कार्यदिशाले डोर्‍याउनुपर्ने उद्देश्यका साथ रूपान्तरणकारी नीति निर्माण गर्ने कार्यमा केन्द्रित रहँदै आएको पनि बताएका छन् ।

Leave Your Comment

Related News