काठमाडौं । निर्मल गुरुङको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले हराएको छ। यो हारमा बागमती प्रदेशले पहिलो पटक जय ट्रफी गुमाएको छ। जितमा लुम्बिनीले शीर्ष छ मा पुग्ने संभावनालाई कायमै राखेको छ।
जितको लागि २ सय ३४ रनको लक्ष्य पछाएको बागमती ४४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ९९ रनमा समेटियो। टप अर्डरका खेलाडीले खराब प्रदर्शन गरे। विवेक मगरले सर्वाधिक ४५ रन बनाए। कप्तान सन्दीप लामिछानेले ३२ रन, उतम मगरले २३ रन, इशान पाण्डेले १७ रन र रिनजिन लामाले १६ रन जोडे।
बलिङमा निर्मलले १० ओभरमा ४ मेडन सहित २७ रन दिएर ५ विकेट लिए। उनको कसिलो बलिङ नै जितको प्रमुख आधार बन्यो। बिप्रासन केसी र दिनेश बोहोराले समान २ विकेट लिए। यो हारमा सन्दीपको कप्तानीमा रहेको बागमती शीर्ष छ मा स्थान बनाउन सकेन्। उसले ९ खेलमा ५ हार र ४ जितमा ८ अंकमा प्रतियोगिता सकायो।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४५.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो। लुम्बिनीको लागि आकाश त्रिपाठीले सर्वाधिक ७२ रन जोडे। उनले ७२ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे। प्रज्वल थापाले ४६ रन, कप्तान देव खनालले ३७ रन, सन्तोष यादवले २५ रन र बिप्रासन केसीले १३ रन बनाए।
विवेक मगरले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिंदै किफायती बलिङ गरे। सन्दीपले १० ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए। रिजन ढकालले २ विकेट झारे। आठौं खेलमा ९ अंक बनाएको लुम्बिनीको जय ट्रफीमा पुग्ने संभावनालाई कायमै राखेको छ।


