CLI

दुई खर्बले बढ्यो सार्वजनिक ऋण नाघ्यो २९ खर्ब

काठमाडौं । सार्वजनिक ऋण २ खर्ब बढीले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा सार्वजनिक ऋण २ खर्ब ५९ अर्ब ७४ करोडले बढेको छ । यो सँगै चैतमसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड पुगेको छ । जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४८ प्रतिशत हो ।

जसमा आन्तरिक ऋणको हिस्सा १३ खर्ब ८८ अर्ब ११ करोड र बाह्य ऋणको हिस्सा १५ खर्ब ४५ अर्ब ६७ करोड रहेको छ । जुन जीडीपीको क्रमशः २२.७३ र २५.३१ प्रतिशत रहेको छ । सार्वजनिक ऋण चालु आर्थिक वर्षको सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको थियो । विश्वका अधिकांश मुलुकले आफनो विभिन्न क्षेत्रको विकासको लागि सार्वजनिक ऋण प्रयोग गर्ने हुँदा सोही अभ्यास अनुरुप नेपालले पनि सार्वजनिक ऋण लिने र प्रयोग गर्ने गरेको कार्यालयका अधिकारीहरु बताउछन् ।

हामीले बजेट स्रोतको हिस्साको रुपमा सार्वजनिक ऋण राखेको हुन्छौं सोही अनुरुप बाह्य र आन्तरिक ऋण परिचालन गरिने कार्यालयका उप सचिव मोहन सिह बस्नेतले बताए । विशेष गरी पुँजीगत शीर्षकमा खर्च गर्नका लागि सार्वजनिक ऋण परिचालन गर्नुपर्ने भए पनि हाम्रो त्यसमा कमजोरी रहेको उनले बताए । चालु र पुँजीगत दुवैको लागि ऋण परिचालन गर्ने परिपाटी रहेको हुँदा समस्या देखिएको उप सचिव बस्नेतको भनाई छ ।

त्यस्तै चालू आर्थिक वर्षमा ५ खर्व ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चैत्र मसान्तसम्ममा ३ खर्ब ४८ अर्ब १५ करोड ऋण प्राप्ति भएको छ। वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५८.४५ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्ति क्रमश २ खर्ब ८३ अर्ब ६६ करोड र ६४ अर्ब ४८ करोड रहेको छ । कुल सार्वजनिक ऋण प्राप्ति मध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८१.४८ र १८.५२ प्रतिशत रहेको छ । अर्थात् अबको त्रैमासमा आन्तरिक ऋण ७८ अर्ब ३३ करोड र बाह्य ऋण १खर्ब ६९ अर्ब १७ करोड गरी कुल २ खर्ब ४७ अर्ब ५० करोड रहेको छ ।

सार्वजनिक ऋण थप्दै जाने तर त्यसलाई सही उपयोग हुन नसक्दा समस्या मात्र हुने गरेको अर्थविद् बताउछन् । सार्वजनिक ऋण प्रतिफल दिने योजना तथा परियोजनामा प्रयोग गर्नुपर्नेमा त्यसो हुन नसकेको अर्थविद्हरुको भनाई छ । चालु खर्च सञ्चालन गर्न सार्वजनिक ऋणको प्रयोग गर्नु ठूलो समस्या भएको उनीहरु बताउछन् । अर्कोतर्फ सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा अबौं रकम खर्च गर्नुपर्ने कारणले थप समस्या भएको अर्थविद्हरु बताउछन् । ऋणको सेवा खर्च फाइदाजनक हुनलाई आन्तरिक ऋणको साँवा र ब्याज भुक्तानी उच्च भएमा मात्र सकारात्मक हुने अर्थविद्को भनाई छ ।

चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्व ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा चैत्र मसान्तसम्म ऋणको सावाँ र ब्याज गरी २ खर्ब ५८ अर्व ४४ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ६२.८८ प्रतिशत हो । कूल गार्हस्थ उत्पादनको आधारमा चैत्र मसान्तसम्ममा कूल ऋण सेवा खर्च ४. २३ प्रतिशत रहेको छ।

नेपालले विदेशी ऋण अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउन्ड स्टर्लिङमा ऋण लिने गरेको छ । तिर्दा पनि विदेशी मुद्रा दिनुपर्छ । नेपाली मुद्रा निरन्तर अवमूल्यन हुने भएकाले ऋण लिँदाभन्दा तिर्दा धेरै बजेट छुट्याउनुपर्छ । विनिमय दरमा देखिएको उतार–चढावका कारण मात्रै गत आर्थिक वर्षमा ६५ अर्ब ५४ करोड विनिमय घाटा रहेको थियो ।

Leave Your Comment

Related News