तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी सस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ ।
गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरुको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरुद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषिउपज प्रवर्द्धन र बिक्री गर्न प्रत्येक साताको शुक्रबार मेला सञ्चालन गर्न थालेको हो । मेलामार्फत दुग्धजन्य पदार्थ बिक्री गरिने सहकारीका अध्यक्ष सावित्री न्यौपानेले बताइन् ।
सहकारी संस्थाकी व्यवस्थापक सङ्गीता ओझा भुर्तेलले मेलाका दिन दुग्धजन्य वस्तुको बिक्रीमा विशेष छुट दिइने जानकारी दिइन् । उनका अनुसार मेलामा दूध, दही, पनिर, कुल्फी, घ्यु, मोही, लस्सी, पनिर मःम, पनिर पकौडा, घ्यूमा पकाएको सेलरोटी, दही पुरी तथा स्थानीय अर्गानिक कृषिउपज वस्तुहरु बिक्री गरिन्छ ।
देवघाटका महिलाहरुले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध सङ्कलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपालन, तरकारीखेती तथा सामूहिक नगदेबाली खेतीजस्ता आयआर्जनमा सदस्यहरुलाई आबद्ध गराउँदै आएको छ ।
सहकारीमा हाल दैनिक ६०० लिटरभन्दा बढी दूध सङ्कलन हुँदै आएको छ । सङ्कलित दूधलाई आफ्नै उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको छ । सहकारीमा हाल ८१९ जना शेयर सदस्य छन् । सहकारीमा देवघाटको वडा नम्बर ५ तथा वडा नम्बर ४ र १ का महिलाहरु सदस्य छन् ।
शेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन् । शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिद गरी दुग्धजन्य वस्तुहरु उत्पादन गरी बिक्री गर्दै आएको छ । सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौँडा, कावासोती, गैँडाकोटलगायतका बजारहरुमा डेरी पसलमार्फत बिक्री हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा बिक्री हुँदै आएको व्यवस्थापक ओझाले बताइन् ।
उनका अनुसार हाल उक्त डेरी उद्योगमार्फत मासिक दश लाख रुपैयाँको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।


