काठमाडौं ।दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशी समीर पल कपुरले नेपाल भ्रमण गर्ने भएका छन्। बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका उनी अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।
नेपाल भ्रमणको लागि मात्र भनेर उनी अमेरिका बाहिर निस्किन लागेका हुन्। अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे।
काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ ।
गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।
वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोष्टले लेखेअनुसार कपुरको काठमाडौं भ्रमण तीन दिनको हुनेछ । समाचारमा लेखिएअनुसार कपुर वाशिङ्टनबाट टर्किस एयरलाइन्समार्फत काठमाडौं आउने र बुधबार सोही विमानमार्फत फर्किने छन् ।
यद्यपि यो भ्रमणको औपचारिक घोषणा भएको छैन । परराष्ट्र मन्त्रालयले पनि यसबारे औपचारिक जानकारी दिएको छैन ।
नेपालमा नयाँ सरकार गठनपछि बरिष्ठ अमेरिकी अधिकारी सिधा काठमाडौं आउनुले वासिङ्गटन डिसीको प्राथमिकतामा नेपाल रहेको संकेत गर्छ।


