CLI

बाजुरामा टेलिकमको फोन नेटवर्कमा संकट

बाजुरा । बाजुरामा फोन नेटवर्क संकट चुलिदैँ गएको छ । पछिल्लो समय बाजुराका नौ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोन नेटवर्कमा गम्भीर समस्या देखिएको हो । उक्त समस्याका कारण यहाँका नागरिकले सञ्चार सेवाबाट समस्या भोग्नु परेको छ ।

जिल्लाका अधिकांश स्थानमा फोन सेवा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा यहाँको दैनिक जनजीवन प्रभावित बन्दै गएको हो । जिल्लामा पछिल्लो दुइतीन महिना यतादेखि नेपाल टेलिकमको फोन नेटवर्कमा गम्भीर खरावी देखिंदै आएको छ ।

फोन लाग्ने, आवाज नसुनिने, कुराकानीकै बीचमा फोन काटिने र आवाज समेत काटिएर आउने जस्ता समस्या देखिन थालेका हुन् । फोन समस्या मात्र नभइ फोरजी सेवा समेत प्रभावित बन्ने गरेको हो । दुर्गम गाउँबस्तीमा भने यो समस्या झनै विकराल बन्दै गएको छ ।

बडीमालिका नगरपालिका वडा नम्बर-७ का स्थानीय प्रेमलाल पाध्यायका अनुसार नेकवर्कले काम नगर्दा फोन गर्न समेत समस्या भइरहेको जानकारी दिए ।

त्यस्तै बाजुराकोे हिमाली कार्यालयमा जिल्लाभर फोन नेटवर्कमा समस्या भइरहेको जनगुनासो दिनहुँ आउने गरेको नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले बताए । उनले जिल्लामा फोन नेटवर्क र फोरजी सेवामा समस्या भएको स्वीकार गरेका छन् ।

उनले भने, ‘जिल्लामा २७ वटा टेलिकम टावर सञ्चालनमा छन् । ती मध्ये कतिपय टावरमा विद्युतको सुविधा छैन् । आठवटा टावरमा मात्रै स्थानीय लघु जलविद्युत छ । अरु बढिजसो सोलारबाट सञ्चालनमा छन् । धेरै टावरमा सोलार मात्रै हुँदा यस्तो समस्या उत्पन्न भएको हो ।’

सदरमुकाम मार्तडीमा रहेको १७ मिटरको टावर सानो हुँदा केही समस्या देखिएकाले नयाँ निर्माण भएको ५० मिटरको टावर केही दिन भित्रै जडान सम्पन्न भएपछि यस्तो समस्यामा कमी आउने कार्यालय प्रमुख सिंहले बताए । साथै उनले जिल्लाका विभिन्न टेलिकम टावरमा नयाँ यन्त्र, उपकरण थप गरेर लगत्तै यस्तो समस्या समाधान गरिने जानकारी दिए ।

 

अहिले जिल्लामा राम्रोसँग नेटवर्कले काम नगर्दा बाजुराका गाउँबस्ती सम्पर्कविहीन जस्तै बनेका छन् । दुर्गम गाउँबस्ती झनै सञ्चार सुविधाबाट टाढिएका छन् । बाजुराको पूर्वीउत्तरी क्षेत्रमा सञ्चार सेवाको निकै असुविधा रहेको छ ।

बाजुरालाई दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा अनुसार १७ वटा ठाउँमा नयाँ टावर राख्न सर्भे गरिएको टेलिकम कार्यालय बाजुराले जनाएको छ । कतिपय सम्पर्कविहीन गाउँलाई नेटवर्कको पहुँचमा पुर्याउन यस्तो योजनाको थालनी गर्न लागिएको बताइएको छ ।

नौ वटै स्थानीय तहका नागरिकहरूले फोन नेटवर्कको समस्या झेलिरहेका छन् । सदरमुकाम मार्तडी क्षेत्रसँगै जिल्लाका भौगोलिक रूपमा विकट अति दुर्गम गाउँबस्तीहरुमा फोन नलाग्ने, लागे पनि आवाज नसुनिने र फोरजी सेवा समेत नचल्ने जस्ता समस्या यथावत् छन् । जसले गर्दा दुर्गम गाउँबस्ती सम्पर्कविहीन जस्तै बनेका छन् ।

 

Leave Your Comment

Related News