CLI

गुल्मीमा सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट शनिबारदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।

यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा-काठमाडौंको हवाई उडानको भाडादरमा वृद्धि भएको छ। नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौंबाट रेसुङ्गाका लागि १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौंका लागि १० हजार ७०२ निर्धारण गरिएको उनले जानकारी दिए । निगमले यसअघि काठमाडौंबाट रेसुङ्गाका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।

विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा  ३ हजार ४०२ मूल्य वृद्धि गरिएको छ   ।   निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ ।

वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ । नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौं-रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ ।

काठमाडौंबाट आइतबार बिहान ८:०५ बजे र रेसुङ्गाबाट बिहान ९:०५ बजे र मंगलबार, बिहीबार र शनिबार काठमाडौंबाट बिहान ६:१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७:१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए । दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ ।

गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो ।

Leave Your Comment

Related News