CLI

राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुखबिच शिष्टाचार भेट,दूतावास खोल्न टर्की सकारात्मक

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले टर्कीको संसद् ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुससँग शिष्टाचार भेटवार्ता गरेका छ्न् ।

अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले टर्कीको संसद्का सभामुख नुमान कुर्तुल्मुस सँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देश बिचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए।

दुई देशबिचको कूटनीतिक सम्बन्ध ६ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे ।

अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपालीहरू दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबिच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबिचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे ।

आइपियूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे । सो क्रममा टर्कीको संसद् ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

टर्की र नेपालबिच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए ।

Leave Your Comment

Related News