काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मातहतका राहदानीमा गैरकानुनी अभ्यास गर्ने दुई जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।
अध्यागमन अधिकृतद्वय टोपबहादुर खत्री र विमल पौडेललाई विमानस्थलको जिम्मेवारीबाट हटाएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
उनीहरुले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपालीको राहदानीमा नीतिविपरीत विदेश गएर काम गर्न नपाउने र नेपाल फर्किने मितिसहितको थप नोट लेखेका थिए। विभागले नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको स्पष्ट पारेको छ।
‘प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अध्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय त्रिअविको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको छ’, विभागले भनेको छ।



