CLI

निर्यात वृद्धि भएपनि व्यापार घाटा १२ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) मा आयात र निर्यात दुवै बढेको छ । चालू आवको ९ महिनामा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको आयात भएको थियो।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको ९ महिनामा २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १८.४६ प्रतिशत बढी हो । गत वर्ष १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको निर्यात भएको थियो।

आयात-निर्यातसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा मुलुकको व्यापार घाटा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ थियो ।

यस अवधिमा आयात-निर्यात अनुपात भने घटेको छ । अघिल्लो वर्ष ६.९६ रहेको आयात–निर्यात अनुपात चालू वर्षमा घटेर ६.६९ मा झरेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशतबाट बढेर १३.०१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८७.४३ प्रतिशतबाट घटेर ८६.९९ प्रतिशतमा सीमित भएको छ ।

Leave Your Comment

Related News