काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये बिनिताले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ र बेनुले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिनितालाई कीर्तिपुर नगरपालिका-२ बाट मंगलबार र बेनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ राधेराधेबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


