काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिन नसक्ने बताएका छन् । सरकारले व्यवसायीहरुलाई कर छुट दिएमा मात्रै विद्यार्थीहरुलाई भाडादरमा छुट दिन सकिने व्यवसायीहरुले बताएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
महासंघले विभागलाई पठाएको पत्रमा भनिएको छ, ‘सरकारले व्यवसायीलाई दिँदै आएको ६० प्रतिशत कर छुट सुविधाहरू हटाएको र संघीय तथा प्रदेश सरकारहरूले लिने करमा असमानता रहेको अवस्थामा ४५ प्रतिशत भाडा छुट मात्रै कार्यान्वयन गर्न सकिने कानुनी आधार छैन ।’
व्यवसायीहरूले केन्द्र र प्रदेश सरकारबिच समन्वय नहुँदा आफूहरू दोहोरो मारमा परेको गुनासो गरेका छन् । जबसम्म व्यवसायीले पाउने ६० प्रतिशत कर छुटलाई कानुनी रूपमा सुनिश्चित गरिँदैन, तबसम्म विद्यार्थी भाडा छुटको परिपत्र कार्यान्वयन गर्न नसकिने महासंघको ठहर छ । यद्यपि, यो समस्या समाधानका लागि मन्त्रालय र विभागसँग आवश्यक छलफल गर्न आफूहरू तयार रहेको महासंघले बताएको छ ।



