काठमाडौं । सत्ताको शक्तिको कारण गैरकानुनी रुपमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएस) को प्रमुख बनेको भन्दै प्रविन पन्दकालाई कारबाही गर्न माग गर्दै उजुरी परेको छ । हेलो सरकारमार्फत् प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेख्दै गैरकानुनी नियुक्ति लिएको आरोपमा पन्दाकलाई कारबाही गर्न उजुरीकर्ताले माग समेत गरेको छ ।
उजुरीकर्ताले खुला प्रतिस्पर्धाबाट नियुक्त हुने सिडिएससीको प्रवन्ध निर्देशक पदमा एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेबेकी नातेदार रहेकी प्रविन पन्दाकले हिजोको दिनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध र पहुँचको प्रयोग गर्दै गैरकानुनी रुपमा नियुक्ति लिन सफल भएकी आरोप लगाएको छ साथै यस क्रममा उनले सिडिएससी र नेप्सेका पदाधिकारीलाई दवाव र प्रभावमा पारेर नियुक्ति लिई हालसम्म गैरकानुनी रुपमा पदासिन रहेको उजुरीमा उल्लेख गरेको छ ।
वैशाख पहिलो साता हेलो सरकारमा उजुरी गरिएको हो । उक्त उजुरीमा उनी पदमा बस्नु नहुने भनि ७ वटा बुँदमा उल्लेख गरिएको छ । जसअनुरुप गैरकानुनी नियुक्तिको साथै पन्दाकले व्यसायीलाई दुःख दिने गरेको ,पुँजीबजारलाई बन्धक बनाएको आरोप उनीमाथि लगाइएको छ ।
‘पन्दाकको नियुक्ति र निजले गरेका आर्थिकलगायत अनियमितताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परे पनि केपी शर्मा ओलीको निर्देशनमा अख्तियार प्रमुख प्रेमकुमार राईले उजुरीमाथि कुनै छानबिन नगरी उन्मुक्ति दिएको, राईसँगको साँठगाँठ अहिले पनि कायमै रहेको । नेप्सेकी नवौं तहकी कर्मचारी रहेकी निज प्रविन पन्दाक नेप्से मातहतको सिडिएससीको कार्यकारी प्रमुख हुनु नेप्सेको कानुन विपरीत रहेको छ । नेप्सेको कर्मचारीलाई एक वर्षभन्दा बढी काजमा जाने सुविधा छैन, यद्यपि पन्दाक एक वर्षभन्दा बढी समयदेखि सिडिएससीको प्रमुख पदमा रहेकी छन्, जुन कुरा उनले समेत हाकाहाकी स्वीकार गर्दै आफू कानुनभन्दा माथि रहेको दम्भ प्रस्तुत गरेकी छन् ,’ उजुरीमा भनिएको छ ।
‘प्रविन पन्दाकले सिडिएससीको कार्यकारी प्रमुख पदमा पुगेपछि व्यापारी व्यवसायीलाई दुःख दिने, ब्ल्याकमेलिङ गर्ने, सामाजिक सन्जालमा गैरजिम्मेवार तरिकाले पोष्टहरु गर्ने गरेकी छन् । प्रविन पन्दाकले अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै कानुनी प्रावधान विपरीत दोहोरो आइजीनको नाममा पुँजीबजारलाई बन्धक बनाउने, विदेशी लगानीकर्तालाई फिर्ता गर्ने वातावरण निर्माण गरिरहेकी छन् ।प्रविन पन्दाकमा हिजोको शक्तिको धड्धडी अहिले पनि कायमै रहेको छ । उनले सिडिएससीको मुख्य कम्पनी नेप्से र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई समेत अटेर गर्ने गरेकी ती निकायका निर्देशनलाई ठाडै अस्वीकार गर्नेमात्र नभई उल्टै नेप्से र सेबोनका पदाधिकारीलाई पढाउने गरेकी छिन्,’उजुरीमा भनिएको छ ।
पन्दाकमाथि सरकारी निकायको प्रमुखमा पदासिन रहेकी पन्दाकले एमालेनिकट युवा संघको महाधिवेशनमा सन्जालबाट केपी ओली, क्षितिज थेबेसहितको पोष्टर शेयर गर्दै प्रचार गरेको र एमाले केन्द्रीय कार्यालयको कार्यक्रमको समेत पोष्टर शेयर गरेको आरोप समेत उजुरीमार्फत लगाइएको छ ।उजुरीकर्ताले उजुरी पत्रमा आफनो नाम भने उल्लेख गरेको छैन ।




