काठमाडौं । निर्माणाधीन आयोजना तथा परियोजनाहरू समयमै सम्पन्न गर्न आवश्यक निर्माण सामग्रीको आपूर्ति र ढुवानीमा देखिएका अवरोध हटाउन सरकारका तर्फबाट समन्वय गर्न निर्देशन दिइएको छ।
संघीय सरकार अन्तर्गतको सम्बन्धित मन्त्रालयले देशभरका प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय अधिकारीहरूलाई पत्राचार गर्दै कच्चा पदार्थ तथा निर्माण सामग्री उपलब्धतामा स्थानीय स्तरमा समस्या देखिएको जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न कारणले सामग्रीको ओसारपसारमा अवरोध हुँदा विकास आयोजना प्रभावित हुने गुनासो बढ्दै गएको छ।
मन्त्रालयले यस्तो अवस्थाले आयोजना ढिलाइ हुनुका साथै लागत वृद्धि हुने र सरकारलाई थप करारजन्य दायित्व वहन गर्नुपर्ने जोखिम बढ्ने उल्लेख गरेको छ। साथै, निर्माण सामग्रीको अभावले नागरिकले ती सामग्री प्रयोग गर्ने अधिकारसमेत प्रभावित हुने बताइएको छ।
पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले आफ्नो अधिकारक्षेत्रभित्र पर्ने नदीजन्य पदार्थको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै अन्य निर्माण सामग्रीको सहज उपलब्धता र निर्वाध ढुवानी सुनिश्चित गर्न सरोकारवाला निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।
मन्त्रालयले वैशाख ११ गतेको निर्णयअनुसार सम्बन्धित निकायहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।


