काठमाडौं । अमेरिकाको पेन्टागन भित्रको एक आन्तरिक इमेलमा केही नाटो सदस्य राष्ट्रहरूलाई कारबाही गर्ने विकल्पहरूबारे छलफल गरिएको खुलासा भएको छ । रोयटर्सका अनुसार अमेरिकाले इरानसँगको युद्धमा पर्याप्त सहयोग नगरेको भन्दै केही युरोपेली देशहरूप्रति असन्तुष्टि जनाएको छ। उक्त इमेलमा विशेषगरी स्पेनलाई नाटोबाट निलम्बन गर्ने सम्भावना समेत उल्लेख गरिएको छ।
अमेरिकी अधिकारीका अनुसार, केही देशहरूले अमेरिकालाई आफ्नो भू-भाग, हवाई मार्ग वा सैनिक आधार प्रयोग गर्न अनुमति नदिएको कारण यस्तो प्रस्ताव अघि आएको हो। अमेरिकाले यसलाई नाटो सदस्यहरूको न्यूनतम दायित्व मान्दै आएको छ। तर, नाटोका अधिकारीहरूले भने यस्तो कदम कानुनी रूपमा सम्भव नरहेको बताएका छन्, किनकि नाटोको सन्धिमा सदस्य राष्ट्रलाई निलम्बन गर्ने व्यवस्था छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि नाटो सहयोगी देशहरूले अपेक्षित सहयोग नगरेको भन्दै आलोचना गरेका थिए। उनले नाटोबाट अमेरिका बाहिरिने सम्भावनासमेत उठाएका छन् । यसैबीच, इमेलमा बेलायतको फकल्याण्ड टापु (Falkland Islands) माथिको दाबीबारे अमेरिकी समर्थन पुनः समीक्षा गर्ने प्रस्ताव पनि राखिएको छ।
स्पेनका प्रधानमन्त्रीले भने यस्तो इमेललाई औपचारिक नीति नभएको भन्दै स्पेन नाटोको “विश्वासिलो साझेदार” रहेको बताएका छन् ।


