CLI

नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवमा पहिलो पटक निजी सञ्चारमाध्यमलाई बन्देज

काठमाडौं । मुलुकको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले आफ्नो ७१औं वार्षिकोत्सव सोमबार मनाउदैछ । वार्षिकोत्वको अवसरमा राष्ट्र बैंकले पहिलोपटक निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाएको छ ।

हरेक वर्ष भव्य रूपमा मनाइने वार्षिकोत्सवमा सरोकारवाला, सरकारी तथा निजी दुवै क्षेत्रका सञ्चारकर्मीलाई निमन्त्रणा गर्ने परम्परा रहे पनि यस पटक गभर्नर डा. विश्वनाथ पौडेलकै निर्देशनमा निजी क्षेत्रका मिडियालाई बन्देज लगाइएको हो।

वार्षिकोत्सव अवसरमा निजी क्षेत्रका मिडियालाई बन्देज लगाउने र सरकारी मिडियालाई हस्तक्षेप नगर्ने निर्णयले पत्रकारिता जगतमा संशय पैदा गरेको छ । गर्भनरको निर्देशनमा सरकारी र निजी क्षेत्रमाथि विभेद गरिएको यो पहिलो पटक हो ।

राष्ट्र बैंक स्रोतका अनुसार बैंकको जनसम्पर्क समितिले गभर्नर डा. विश्वनाथ पौडेलको निर्देशन भन्दै केवल सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई मात्रै कार्यक्रमको समाचार संकलनका लागि बोलाउने निर्णय गरिएको छ ।

राष्ट्र बैंकको वार्षिकोत्सव सार्वजनिक चासोको विषय हो भने अर्कोतर्फ कार्यक्रममा वार्षिक प्रतिवेदन समेत सार्वजनिक हुने गरेको छ उक्त जानकारी सार्वजनिक गर्नु उपयुक्त हुनेछ तर निजी क्षेत्रको मिडियालाई बन्देज गरिनु लोकतान्त्रिक मुल्य विपरित भएको भनि आलोचना सुरु भएको छ ।

केन्द्रीय बैंकजस्तो संवेदनशील र सार्वजनिक जवाफदेहिता बोकेको निकायले सञ्चारमाध्यममाथि विभेदकारी नीति अपनाउनुलाई पत्रकारिता क्षेत्रले गम्भीर रूपमा लिएको छ। सूचनाको हक र प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता विपरीत राष्ट्र बैंकले सरकारी मिडियालाई मात्र बोलाएर आफ्ना कमजोरी लुकाउन खोजेको आरोप लागेको छ।

वार्षिकोत्सव कार्यक्रममा राष्ट्र बैंकले वर्षभरीको काम कारवाही, वित्तीय अवस्था, मौद्रिक नीति निर्देशन पालना लगायतका बिषयको विवरण सार्वजनिक गर्छ। यसमा मिडियाले सरकारी निकायका काम कारवाहीको पारदर्शितामा प्रश्न उठाउने र उनीहरूलाई जनताप्रति जवाफदेही बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्।

निजी मिडियाको प्रवेशमा रोक लगाएर राष्ट्र बैंकले एकतर्फी सुचना प्रवाह गर्न खोजेको पाइन्छ । अर्कोतर्फ प्रश्न उठाउन नदिनेतर्फ राष्ट्र बैंकको भूमिका देखिएको छ । निजी मिडियालाई प्रवेश नगराएकोमा भने कतिपय राष्ट्र बैंकका निर्देशकहरुले असुन्तुष्टि जनाएका छन् ।

Leave Your Comment

Related News