ललितपुर। ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा भोलि (बुधबार) स्थानीय बिदा दिने निर्णय गरेको छ। रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि १६ वैशाखमा परेकाले महानगरवासी जात्रामा सहभागी हुने भन्दै महानगरपालिका तथा मातहतका सबै कार्यालय बन्द रहने मेयर चिरिबाबु महर्जनले जानकारी दिए।
ललितपुरको पुलचोकमा ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई विराजमान गराई गत ८ वैशाखदेखि रथ तान्ने कार्य सुरु गरिएको थियो। रथलाई गाःबहाल, मंगलबजार, सुन्धारा हुँदै लगनखेल पुर्याइएपछि बलि पूजा सम्पन्न गरी भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाल्ने परम्परा छ। धार्मिक परम्परा र संस्कृतिको सम्मानका साथ महानगरपालिकाले तीन वर्षअघि देखि ‘नरिवल खसाल्ने’ दिनलाई स्थानीय बिदाका रूपमा घोषणा गर्दै आएको प्रमुख महर्जनले बताए।
रथजात्राअन्तर्गत लगनखेल क्षेत्रमा हुने ‘नरिवल खसाल्ने’ परम्परा धार्मिक आस्था र सांस्कृतिक महत्त्वसँग जोडिएको छ। यस दिन नगरवासीको उल्लेख्य सहभागिता रहने भएकाले सार्वजनिक उपस्थिति व्यवस्थापन तथा परम्पराको सम्मानस्वरूप बिदा दिइएको महानगरपालिकाले जनाएको छ।


