काठमाडौं । सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ । परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार निश्चित संख्यामा विज्ञापन खुलाएर प्रतिस्पर्धा गराउने र प्रतिस्पर्धाबाट छानिएकालाई योग्य व्यक्तिलाई राजदूत नियुक्त गरनेगरी तयारी भइरहेको छ।
राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञ (परराष्ट्र मन्त्रालयका कर्मचारी) बाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ । हाल नेपालका कुल ४४ वटा विदेशस्थित नियोग छन्, जसमा ३४ दूतावास र १० वाणिज्य दूतावास कार्यालय छन् ।
हाल भारत, चीन, अमेरिका, बेलायतसहित १७ राजदूत पद रिक्त छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त राजदूतहरुलाई जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार र २१ फागुनको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेका छन् । आगामी जुलाई अन्त्यसम्म थप ६ राजदूत पद रिक्त हुनेछन् ।


