काठमाडौं । सरकारले बागमती नदि र यसका सहायक नदि किनारको अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने क्रम जारी राखेको छ ।
यसरी अव्यवस्थित बस्ती हटाउनेक्रममा आफूलाई सुकुमवासी दाबी गर्दै १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१८ सय १६ परिवारमा ७ हजार ७८९ जना सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
सरकारले अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई विभिन्न ४ वटा होल्डिङ सेन्टरमा राखिएको पनि जनाएको छ ।
त्यस्तै दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकीले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
हाल सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरू:
१. कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन
२. नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू
३. भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र
४. बोडेस्थित कृषि तालिम केन्द्र


