CLI

अमेरिकी युद्धपोतमाथि इरानी मिसाइल आक्रमण, विश्व व्यापार प्रभावित

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको तनाव थप चुलिएको छ। होर्मुज जलडमरूमध्य नजिक इरानले अमेरिकी नौसेनाको युद्धपोतमाथि मिसाइल आक्रमण गरेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) का अनुसार, जास्क टापु आसपास रहेको अमेरिकी जहाजले चेतावनी बेवास्ता गरेपछि दुईवटा मिसाइल प्रहार गरिएको अल ज जिराले जनाएको छ ।

यस घटनापछि क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “प्रोजेक्ट फ्रिडम” नामक नौसैनिक अभियान घोषणा गर्दै जलडमरूमध्यमा अड्किएका जहाजहरूलाई सुरक्षित मार्गदर्शन गर्ने योजना अघि सारेका छन्। उक्त अभियानमा करिब १५ हजार सैनिक १०० भन्दा बढी विमान तथा युद्धपोत परिचालन गरिने बताइएको छ।

हाल करिब ३ हजार जहाज ६५ दिनदेखि होर्मुज क्षेत्रमा अड्किएका छन् । विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति यही मार्ग हुँदै हुने भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ । जहाज कम्पनीहरू जोखिम मोलेर यात्रा गर्ने कि नगर्ने भन्ने द्विविधामा छन् भने बीमा लागत समेत तीव्र रूपमा बढेको छ ।

इरानले भने जलडमरूमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आफ्नो नियमअनुसार समन्वय नगर्ने कुनै पनि जहाजलाई रोक्ने चेतावनी दिएको छ। साथै, अमेरिकी सेनाले हस्तक्षेप गरेमा कडा प्रतिक्रिया दिने चेतावनी पनि दिएको छ ।

यसैबीच, क्षेत्रीय तनाव अन्य स्थानमा पनि फैलिएको छ। इजरायलले दक्षिण लेबनानमा आक्रमण जारी राखेको छ भने हिज्बुल्लाहले युद्धविराम नभएको भन्दै प्रतिरोध जारी राख्ने जनाएको छ। गाजासम्बन्धी द्वन्द्व र पश्चिमी किनारमा बढ्दो हिंसाले मानवीय संकटलाई अझ गहिरो बनाएको छ ।

Leave Your Comment

Related News