काठमाडौं । सर्वोच्च अदालतले विवादस्पद व्यवसायी दीपक भट्टको हकमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले सोमबार उक्त आदेश जारी गरेको हो।
अदालतले भट्टलाई थुनामा राख्नुको कारण खुलाउँदै बन्दीसहित उपस्थित गराउन विपक्षीहरूका नाममा ‘कारण देखाऊ आदेश’जारी गरेको छ।
उनकी पत्नी आयुष्मा नेपालले भट्टलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । आयुष्मा नेपालले गत वैशाख १८ गते सर्वोच्चमा रिट दर्ता गराएकी हुन् । उक्त रिटमा काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी प्रभागलाई विपक्षी बनाइएको छ।
व्यवसायी भट्टमाथि हाल दुईवटा गम्भीर विषयमा अनुसन्धान भइरहेको छ । विभागले उनको सम्पत्तिको स्रोत र वैधतामाथि छानबिन गरिरहेको छ। अर्को सेयर बजारमा अनियमितताको आरोपमा सिआइबीले उनीमाथि अनुसन्धान अघि बढाएको छ।
अब विपक्षी निकायहरूले भट्टलाई थुनामा राख्नुपर्ने स्पष्ट कानुनी आधारसहित अदालतमा पेस गर्नुपर्नेछ।


