काठमाडौं । नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको रिक्त रहेको कार्यकारी अध्यक्ष पदका लागि ठुलो सङ्ख्यामा आवेदन परेको छ। सरकारले राजनीतिक हस्तक्षेपभन्दा पनि खुला प्रतिस्पर्धालाई प्राथमिकता दिने सङ्केत गरेसँगै यस पटक विगतको तुलनामा धेरै व्यक्तिहरूले बोर्डको नेतृत्व गर्ने इच्छा देखाएका हुन्। सिफारिस समितिले तोकेको अन्तिम समय सीमाभित्र कुल ४७ जना प्रतिस्पर्धीहरूले आफ्नो व्यक्तिगत विवरण र आवश्यक दस्ताबेज दर्ता गराएका छन्।
अध्यक्ष पदका लागि केही समय अघि मात्रै राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र, चिन्तनामणि शिवाकोटी, पित्ताम्बर भण्डारी, सुवासचन्द्र घिमिरे, प्रलाद गिरी रपुरुषोत्तम राज चिमौरिया सहित ४७ जनाले आवेदन दिएका छन् । धितोपत्रसम्बन्धी ऐनको व्यवस्थाअनुसार अध्यक्ष बन्न चाहने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै पुँजी बजार, धितोपत्र व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ।
त्यस्तै, उम्मेदवार नेपाली नागरिक हुनुका साथै उच्च नैतिक आचरण भएको र सम्बन्धित क्षेत्रमा पेसागत अनुभव हासिल गरेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, वन्यजन्तु वा पुरातात्त्विक सम्पदासम्बन्धी कसुरमा दोषी ठहर भएका, कालोसूचीमा परेका र तोकिएको अवधि पूरा नभएका, विदेशी स्थायी आवास अनुमति लिएका तथा सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा संलग्न व्यक्तिहरू भने प्रतिस्पर्धाबाट बाहिर रहनेछन्।


