काठमाडौं । काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् ।
यही वैशाख १७ गते दिउँसै पेस्तोल देखाउँदै लुटपाटको प्रयास भएपछि नैना एन्ड इशान ज्वेलरीकी सञ्चालक बबिता रौनियार प्रतिकार गरेकी थिइन्। त्यसपछि उनीहरू भागेका थिए।
घटनाको अनुसन्धान र खोजतालसको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
महर्जनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले र विवेक र अरुणलाई काठमाडौँ परिसरको टोलीले पक्राउ गरेको हो। अरुण भुजेलको साथबाट घटनास्थलमा प्रयोग गरिएको पेस्तोलसमेत बरामद भएको छ।
महर्जनले लुटपाटको क्रममा लगाएको कपडा घटनास्थल नजिकै फालेर हुलियासमेत परिवर्तन गरेका प्रहरीले जनाएको छ।


