CLI

अमेरिका र इरान वार्ताको संकेतसँगै तेल बजारमा ठूलो गिरावट

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताबारे समाचार बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तीव्र रूपमा घटेको छ । यो समाचार तयार पार्दै गर्दा ब्रेन्ट कच्चा तेलको मूल्य १०.४० प्रतिशतले घटेर प्रति ब्यारेल ९८.४४१ डलर पुगेको छ भने क्रुड आयलको मूल्य ११.९८ प्रतिशतले घटेर ९०.०२ डलरमा झरेको छ ।

बजारमा लगानीकर्ताहरूले अमेरिका र इरानबीचको तनाव लामो समयसम्म कायम रहन नसक्ने अनुमान गर्न थालेपछि तेलको मूल्यमा ठूलो गिरावट आएको हो । उच्च तेल मूल्यले उपभोक्ता मूल्य, ऋण बजार र यातायात खर्चमा असर पार्ने भएकाले अमेरिका सम्झौतामा जान बाध्य हुन सक्ने विश्लेषण गरिएको छ ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघ्चीले वार्तामा न्यायपूर्ण र समग्र सम्झौता मात्र स्वीकार्य हुने बताएका छन् । उनले चीन भ्रमणका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् । केही समयअघि पाकिस्तानको मध्यस्थतामा प्रारम्भिक वार्ता भए पनि दुवै पक्ष आफ्नो अडानमा अडिग रहेकाले थप बैठक हुन सकेको थिएन ।

तनाव यसै साता फेरि बढेको थियो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “प्रोजेक्ट फ्रीडम” नामक अभियान घोषणा गर्दै हर्मुज जलडमरूबाट जहाज सञ्चालन सहज बनाउन प्रयास गरेका थिए । त्यसको प्रतिक्रिया स्वरूप इरानले उक्त क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेको दाबी गर्दै संयुक्त अरब इमिरेट्सको एक तेल बन्दरगाहमा आक्रमण गरेको थियो ।

तर, केही दिनमै ट्रम्पले उक्त अभियान स्थगित गर्दै इरानसँग पूर्ण र अन्तिम सम्झौता तर्फ ठूलो प्रगति भएको बताएका छन् । इरानले भने वार्तामा आफ्ना अधिकार र हितको रक्षा गर्ने र केवल न्यायपूर्ण सम्झौता मात्र स्वीकार गर्ने स्पष्ट पारेको छ ।

Leave Your Comment

Related News