CLI

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी अब अनलाइनमै दर्ता हुने

काठमाडौं । सरकारले भारतीय तथा भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकलाई लक्षित गर्दै विदेशी पर्यटकवाहक सवारी साधनको अनलाइन दर्ता तथा राजश्व भुक्तानी सेवा सुरु गरेको छ। भन्सार विभागले विकास गरेको नयाँ प्रणालीको शुभारम्भ उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुभारम्भ गरे ।

नयाँ प्रणाली सञ्चालनमा आएपछि नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनले अब भन्सार नाकामा पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। पर्यटकले घरमै बसेर अनलाइनमार्फत आफ्नो विवरण भर्न, राजश्व तिर्न तथा डिजिटल इजाजतपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

यसअघि नेपाल प्रवेश गर्ने सवारी साधनले भन्सार नाकामै पुगेर अस्थायी अनुमति लिनुपर्ने तथा यात्रा अवधि सकिएपछि पुनः नवीकरणका लागि नाकामा उपस्थित हुनुपर्ने बाध्यता थियो। समयमै नवीकरण नगरे जरिवाना तिर्नुपर्ने अवस्था समेत रहेको थियो।
कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले भोग्ने झन्झट हटाउन र सार्वजनिक सेवामा सुशासन तथा छरितोपन ल्याउन यो सेवा सुरु गरिएको बताए । उनले पर्यटकमैत्री वातावरण निर्माण गर्न सरकारले डिजिटल सेवामा जोड दिएको उल्लेख गरे ।

विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीका अनुसार अब विदेशी पर्यटकवाहक सवारी साधनले आफ्नो विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन्। यसले प्रक्रिया थप पारदर्शी, छरितो र प्रभावकारी बन्ने विश्वास विभागको छ।
विभागका अनुसार राजश्व अनलाइन वा बैंक काउन्टरमार्फत तिर्न सकिनेछ। अनलाइनबाट शुल्क तिरेपछि सेवाग्राहीले इमेलमार्फत क्यूआर कोड प्राप्त गर्नेछन्। सोही क्यूआर कोड देखाएर सवारी साधनले भन्सार नाकाबाट नेपाल प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ।
यात्रा अवधिको म्याद सकिएमा पनि पर्यटकले आफू रहेको स्थानबाटै अनलाइनमार्फत अवधि थप गर्न सक्ने सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ।

यो सेवा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत विकास गरिएको ‘अस्थायी सवारी आयात (टीआईभी) मोड्युल’ मार्फत सञ्चालन गरिएको हो। सेवा लिन चाहनेले भन्सार विभागको वेबसाइटमा गएर “हाम्रा सेवाहरू” अन्तर्गत रहेको टीआईभी प्रणालीमार्फत विवरण भर्न सक्नेछन्।
हाल यो सेवा भारतीय स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका सवारी साधनमा लागू गरिएको छ। विभागले भविष्यमा चिनियाँ नाकाबाट आउने सवारी साधनका लागि पनि सेवा विस्तार गरिने जनाएको छ। तत्कालका लागि भारत र बंगलादेशका पर्यटक यस सेवाबाट बढी लाभान्वित हुने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News