काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीच जारी युद्ध तनाव थप गम्भीर बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भए फेरि बमबारी सुरु गर्न सकिने चेतावनी दिएका छन् । इरानले अमेरिकाले प्रस्तुत गरेको १४ बुँदे युद्ध अन्त्य प्रस्ताव अझै “समिक्षा अन्तर्गत” रहेको जनाएको छ। तेहरानले आफ्नो अन्तिम धारणा तयार भएपछि पाकिस्तानमार्फत प्रतिक्रिया दिने अन्तराष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग “धेरै राम्रो वार्ता भएको” भन्दै सम्झौता हुन सक्ने सम्भावना रहेको पनि बताएका छन्।
यसैबीच, इजरायलले लेबनानमा पुनः आक्रमण गर्दै राजधानी बेरुतमा बमबारी गरेको छ। यो अप्रिल १७ को नाममात्रको “युद्धविराम” पछि बेरुतमा भएको पहिलो ठूलो आक्रमण भएको बताइएको छ।
इजरायलले लेबनानमा आक्रमण विस्तार गरिरहेको छ भने हेज्बोल्लाहसँग सम्बन्धित क्षेत्रहरूलाई लक्षित गरिरहेको छ। गाजामा पनि आक्रमण जारी छ। हमासले इजरायली आक्रमणलाई “युद्धविरामको स्पष्ट उल्लंघन” र “नरसंहार अभियानको निरन्तरता” भन्दै कडा निन्दा गरेको छ।
मानवीय संकट झन् गहिरिँदै गएको छ। अस्पतालहरूमा घाइतेको संख्या बढिरहेको छ र दैनिक बमबारीका कारण सर्वसाधारणमा त्रास फैलिएको छ। विश्लेषकहरूका अनुसार इरान–अमेरिका वार्ता सफल भए मध्यपूर्वमा तनाव कम हुन सक्छ। तर लेबनान, गाजा र होर्मुज क्षेत्रका विवाद अझै गम्भीर बनेका छन्।
इरानी राष्ट्रपति मसुद पेजेशकियनले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीसँग करिब दुई घण्टा लामो भेटवार्ता भएको बताएका छन्। उनले बैठकलाई “विश्वास, शान्त र आत्मीय वातावरणमा सम्पन्न भएको” बताएका छन् ।