काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा अनियमितता फेला पारेपछि ३ वटा फर्मलाई जरिवाना तिराएको छ । विभागले नियमित अनुगमनका क्रममा ती फर्महरूले उपभोक्ता संरक्षण ऐन तथा नियमावली विपरीत कार्य गरेको पाइएको जनाएको छ।
विभागले बुधबार काठमाडौं महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न स्थानमा गरेको निरीक्षणका क्रममा तीन वटा फर्मलाई जरिवाना गरेको छ भने अन्य व्यवसायलाई सुधारका लागि निर्देशन दिएको छ।
अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–२६, गोंगबुस्थित लुगा जुत्ता प्रा. लि. लाई उपभोक्ता ऐनअनुसार आवश्यक प्रक्रिया पूरा नगरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । त्यसैगरी नयाँ बानेश्वरस्थित श्रेष्ठ कस्मेटिक्स शपलाई १५ हजार तथा गोंगबुस्थित पुजा श्रृङ्गारलाई १० हजार जरिवाना गरिएको छ ।
विभागका अनुसार यी व्यवसायहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ का विभिन्न प्रावधान उल्लङ्घन गरेका थिए । त्यस्तै, खाद्य तथा पेय पदार्थ, पानी उद्योग तथा किराना पसलसहितका अन्य १० वटा व्यवसायलाई भने तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको छ।
तीमध्ये माँ गौरी अदिश्री फुड्स प्रा. लि., अब्सेसन ग्रुप प्रा. लि., ओसियन ड्रिकिङ्ग वाटर इण्डष्ट्रिज, अक्वाटिक इण्डष्ट्रिज प्रा. लि., श्री कृष्ण बेभरेज, दक्षिणकाली खाद्य किराना स्टोर, मनोहरा फुड एन्ड बेभरेज प्रा. लि., शिद्धकाली आक्वा पानी उद्योग, शीतल जल उद्योग प्रा. लि. र भद्रकाली पानी उद्योग रहेका छन्।


