CLI

बेरुत आक्रमणमा हेजबुल्लाहका कमान्डरसहित धेरै लडाकूको मृत्यु, कुवेतमा ड्रोन आक्रमण

काठमाडौं । बेरुतको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा हिजबुल्लाहका रादवान युनिटका कमान्डर अहमद बलुत मारिएको इजरायलले दाबी गरेको छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ) का अनुसार यस कारबाहीमा नासिर युनिटका गुप्तचर प्रमुख मोहम्मद अली बाजी र हवाई सुरक्षा निगरानी अधिकारी हुसेन हसन रोमानी पनि मारिएका छन् ।

गाजा शहरमा भएको छुट्टै हमलामा हमास नेता खलिल अल–हयाका छोरा अज्जाम अल–हयाको मृत्यु भएको पनि पुष्टि भएको छ, जसले यस क्षेत्रमा तनाव अझ बढाएको देखिन्छ । यसै बर्षको फेब्रुअरी २८ देखि सुरु भएको मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ताका लागि प्रयास भइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, “इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्न आवश्यक थियो। यो भएको छ अब छिट्टै युद्ध अन्त्य हुनेछ ।”

कुवेती विमानस्थलमा ड्रोन आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको छ । कुवेतको उड्डयन प्राधिकरणका अनुसार उक्त ड्रोनले विमानस्थलको एउटा इन्धन ट्याङ्कलाई लक्षित गरी आक्रमण गरेको थियो ।

कुवेती समाचार संस्थाका प्रवक्ता अब्दुल्लाह अल–राजीले आक्रमणमा भौतिक संरचनामा मात्र क्षति सीमित रहेको र कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको बताए । उनले भने, “आक्रमणपछि तुरुन्त विपत् व्यवस्थापन सेवाले आगो निभाउने प्रयास गरिरहेको छ।”

यसैबीच, इरानको संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकी सैन्य रणनीतिप्रति कटाक्ष गरे । उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट जारी गर्दै इरानविरुद्धको अमेरिकी सैन्य अभियानलाई ‘अपरेसन ट्रस्ट मी ब्रो’ र ‘अपरेसन फक्सियोस’ नाम दिए ।

उनले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, “‘अपरेसन ट्रस्ट मी ब्रो’ असफल भयो । अब ‘अपरेसन फक्सियोस’को साथ तपाईंको नियमित दिनचर्यामा फर्कनु पर्नेछ।”

Leave Your Comment

Related News