RE
Global College

संवैधानिक परिषद् अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको आपत्ति, उपसभामुखसँग रुष्ट

काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले संसद् छलेर राष्ट्रप्रमुखलाई दबाब दिई अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्। गलत कार्यलाई कुनै पनि हालतमा सही ठहर गर्न नसकिने उनको भनाइ छ।

साम्पाङले वरीयता मिचेर चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्नु सरकारको अर्को ठूलो गल्ती भएको आरोप पनि लगाएका छन्। सुशासन र विधिको शासनको आश्वासन दिएर सत्तामा पुगेको दलले नै विधि उल्लङ्घन गरेको भन्दै उनले आलोचना गरेका छन्।

उनका अनुसार यस निर्णयमा राजनीतिक तथा कानुनी स्वार्थ लुकेको हुन सक्ने आशंका छ। सहकारी ठगी प्रकरण, भदौ २३–२४ को जेनजी आन्दोलनलगायत विषयमा आफ्नो पक्षमा निर्णय गराउन यस्तो नियुक्ति गरिएको हुन सक्ने अनुमान पनि उनले व्यक्त गरेका छन्।

त्यसैगरी, संवैधानिक परिषद्को बैठकका क्रममा विभिन्न विषयहरू उठाएर दबाब र प्रभाव सिर्जना गरिएको आरोप पनि उनले लगाएका छन्। यसै क्रममा उपसभामुखले समेत वरीयताको क्रम उल्लङ्घन हुने निर्णयमा हस्ताक्षर गरेकोप्रति उनले खेद व्यक्त गरेका छन्।

साम्पाङले विधि मिचेर राजनीतिक स्वार्थ अघि सार्ने प्रवृत्तिको आफ्नो पार्टीले सधैं विरोध गर्ने बताएका छन्।

NECO

Leave Your Comment

Related News