CLI

कम्बोडियामा रहेका २११ नेपाली दूतावासको सम्पर्कमा

काठमाडौं। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासका अनुसार, हालसम्म कम्बोडियामा रहेका २११ जना नेपाली दूतावासको सम्पर्कमा आएका छन्।

दूतावासले कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्देश्यले अनलाइन फाराम भर्न अनुरोध गरेअनुसार हालसम्म २११ जनाले उक्त फाराम भरेका हुन्, जसमा ९ जना महिला रहेका छन्। दूतावासका अनुसार सम्पर्कमा आएकाहरू सन् २०२२ मे देखि २०२६ मे महिनासम्ममा कम्बोडिया पुगेका हुन्।

दूतावासले २७ जना नेपाली विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको उल्लेख गरेको छ। पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने पनि दूतावासले जनाएको छ। यस्तै, २५ जना नेपाली आजै नेपाल फर्किरहेको जानकारी दूतावासले दिएको छ।

दूतावासले नेपाल फर्किनका लागि ‘कनेक्टिङ फ्लाइट’ भएको टिकट मात्र खरिद गर्न आग्रह गरेको छ। ‘कम्बोडियाबाट नेपाल फर्किने क्रममा कृपया कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्नुहोला,’ दूतावासको सूचनामा भनिएको छ, ‘कनेक्टिङ फ्लाइट नभएको टिकट खरिद गर्दा ट्रान्जिट हुने मुलुकको भिसा आवश्यक पर्न सक्ने र लगेज पुनः चेक-इन गर्नुपर्ने भएकाले यात्रा झन्झटिलो हुन सक्छ।’

नेपालीहरूले कम्बोडिया जाने क्रममा २ देखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिलाई बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ। दूतावासले नेपाल फर्किनासाथ काठमाडौंको बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरी दोषीलाई कानुनी कारबाही गराउन र रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाउन अनुरोध समेत गरेको छ।

Leave Your Comment

Related News