काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बनधी मापदण्ड २०८३ अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो ।
अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको योग्यता हुनुपर्ने भनिएको छ ।
त्यस्तै विज्ञ सदस्यका लागि अर्थशास्त्र,वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा दश वर्ष कार्य गरेको अनुभव माग गरिएको छ ।
उल्लेखित योग्यता पुगेका र ६० वर्ष उमेर पुरा नभएकाहरुले उक्त पदका लागि दरखास्त दिन सक्नेछन् । उनीहरुले दरखास्त बुझाउँदा वित्तिय सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या, चुनौति र अवसर सहितको कार्ययोजना समेत पेश गर्नुपर्नेछ । सूचना जारी भएको १५ दिनभित्र ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।



