RE
Global College

५ वर्षमै परिणाम नदिए रास्वपा असफल ठहरिन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी पाँच वर्षलाई आफ्नो पार्टीका लागि निर्णायक समयको रूपमा चित्रण गरेका छन्। उनले जनताले प्रत्यक्ष महसुस गर्ने परिणाम दिन नसके रास्वपा असफल र अयोग्य ठहरिने बताएका हुन्।

ललितपुरमा आयोजित सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी सह्य नहुने स्पष्ट सन्देश दिए। ‘रविको मान्छे’ वा ‘बालेनको मान्छे’ भन्ने प्रवृत्तिले पार्टीको उद्देश्य कमजोर बनाउने भन्दै उनले त्यस्ता चर्चा तत्काल बन्द गर्न निर्देशन दिए।

बालेन शाह सँगको सहकार्यलाई लिएर उठेका विभिन्न अड्कलबाजीप्रति प्रतिक्रिया दिँदै लामिछानेले आफूहरूबीचको सम्बन्ध व्यक्तिगत लाभका लागि नभई देशको भविष्य निर्माणका लागि भएको बताए। राजनीतिक रूपमा आफूहरू परिपक्व रहेको उल्लेख गर्दै उनले फुटको अपेक्षा गर्नेहरूलाई व्यंग्यात्मक शैलीमा जवाफ समेत दिए।

उनले सांसदहरूलाई व्यक्तिगत स्वार्थ वा पदको अपेक्षाभन्दा माथि उठ्न आग्रह गरे। पार्टीले छोटो समयमै ठूलो राजनीतिक सफलता हासिल गरे पनि त्यसको आधार अघिल्लो पुस्ताले गरेको लामो संघर्ष भएको उनको भनाइ थियो।

लामिछानेका अनुसार अब रास्वपाका लागि भाषणभन्दा काम महत्वपूर्ण छ। आगामी पाँच वर्षमा जनताले परिवर्तन महसुस गर्ने गरी काम गर्न नसके पार्टीप्रतिको विश्वास कमजोर बन्ने उनले संकेत गरे। साथै, सार्वजनिक अभिव्यक्ति र व्यवहारले नागरिकलाई चोट पुग्न सक्ने भएकाले सांसदहरूलाई जिम्मेवार बन्न पनि उनले सचेत गराए।

NECO

Leave Your Comment

Related News