काठमाडाैं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि तीखाे राजनीतिक टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले एल्गोरिदमको प्रभाव, सामाजिक सञ्जालको प्रयोग र विश्व राजनीतिक परिस्थितिको असरका कारण अप्रत्याशित जनमत प्राप्त गरेको दाबी गरे।
थापाले रास्वपा कुनै स्पष्ट वैचारिक आधारमा स्थापित राजनीतिक शक्ति नभएको आरोप लगाउँदै त्यसलाई ‘अराजकतावादी समूह र अवसरवादीहरूको गठजोड’ को संज्ञा दिए ।
उनले वैज्ञानिक विचारधाराविहीन राजनीतिक अभ्यासले मुलुकलाई स्थायित्वभन्दा अन्योलतर्फ धकेल्ने टिप्पणी गरे ।
उनले नेपाली सेनाको भूमिकामाथि समेत प्रश्न उठाउँदै “आफ्नै परमाधिपतिको अगाडि आगजनी हुँदा सेना किन मौन बस्यो ?’ भन्दै असन्तुष्टि व्यक्त गरे।
रास्वपाले अघि सारेको सय बुँदे शासकीय सुधार कार्यक्रम र चुनावी वाचापत्रमाथि पनि उनले आलोचना गरे।
उनका अनुसार ती दस्तावेजहरू सुधारको नाममा अधिनायकवादी संरचना निर्माण गर्ने उद्देश्यले तयार गरिएका छन् ।
थापाले लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न राजनीतिक दलहरू स्पष्ट विचार, सिद्धान्त र जिम्मेवार अभ्याससहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।


