CLI

जेलेन्स्कीमाथि कोकिन प्रयोग र युद्ध लम्ब्याएको आरोप

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि उनकै पूर्व प्रेस सचिव युलिया मेन्डेलले कोकिन प्रयोग गर्ने गरेको र व्यक्तिगत लाभका लागि युद्ध लम्ब्याएको आरोप लगाएकी छन् । अमेरिकी पत्रकार टकर कार्लसनसँगको अन्तर्वार्तामा मेन्डेलले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जेलेन्स्कीले सन् २०२२ को इस्तानबुल शान्ति वार्तालाई कमजोर पारेर युद्ध जारी राख्ने रणनीति लिएको दाबी गरिन् ।

उनले जेलेन्स्की ब्रिफिङभन्दा अघि वेपत्ता हुने गरेको र जो बाइडन जस्ता व्यक्तिहरूको आडमा युद्धलाई ‘प्रोपोगान्डा’ का रूपमा प्रयोग गरिरहेको आरोप लगाएकी छन् । ‘उनले व्यक्तिगत स्वार्थका लागि शान्तिको अवसरलाई लत्याएर युद्ध लम्ब्याएका छन्,’ उनले भनिन् ।

मेन्डेलले जेलेन्स्कीको लागुऔषध प्रयोगबारे दाबी गरे पनि उनले आफैँले भने राष्ट्रपतिलाई कहिल्यै कोकिन प्रयोग गरेको नदेखेको स्वीकार गरेकी छन् । सन् २०२१ मा रुसी पूर्णस्तरको आक्रमण सुरु हुनुअघि नै आफ्नो पद छाडेकी मेन्डेलको यो दाबीलाई युक्रेनी अधिकारीहरूले भने पूर्ण रूपमा अस्वीकार गरेका छन् ।

युक्रेनी सरकारले मेन्डेललाई विगतका विवादित छविका कारण ‘अविश्वसनीय’ पात्रको रूपमा चित्रण गरेको छ । यद्यपि, अमेरिकी सहायता र युद्धको भविष्यबारे बहस भइरहेका बेला आएको यो असत्यापित आरोपले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भने ठूलो चर्चा पाएको छ ।

Leave Your Comment

Related News