काठमाडौं । सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५.५५ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा यी कम्पनीहरुले समग्रमा ४ अब ८६ करोड नापा कमाएका थिए ।
केही कम्पनीहरुको लगानी तथा कर्जाबाट हुने आम्दानी घटेको छ । साथै, बैंकको ब्याजदरमा आएको गिरावटका कारण पनि कम्पनीहरुको आम्दानीमा केही कमी आएको हो ।
बिमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन् । बैंकको मुद्दति खातामा पनि निक्षेत राखेका हुन्छन् । अहिले बैंकहरुले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । जसकारण ब्याजबाट हुने आम्दानी घटेको छ । यता, सेयर बजारमा पनि खासै राम्रो वृद्धि छैन । सेयर बजारमा गिरावट आउँदा पनि यी कम्पनीहरुको नाफामा गिरावट आएको हो ।
१४ वटा बिमाको चुक्ता पुँजी ७० अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको छ । यता, रिटेडन्ड अर्निङमा भने ११ अर्ब ७० करोड ५८ लाख रुपैयाँ रहेको छ । ९ महिनामा १४ कम्पनीले १ खर्ब ३८ अर्ब ५३ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १३.५५ प्रतिशत धेरै हो । गत वर्षको चैतसम्म यी कम्पनीहरुले १ खर्ब २२ अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।
चुक्ता पुँजी र सञ्चित नाफा
जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ७० अर्ब ८१ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक गरिएको तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरुको सञ्चित मुनाफा ११ अर्ब ७० करोड ५८ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजीका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ। दोस्रो, स्थानमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । यससको चुक्ता पुँजी ९ अर्ब १४ करोड रुपैयाँभन्दा बढी छ ।
त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्सको ५ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजीसहित तेस्रो स्थानमा रहेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
सञ्चित मुनाफातर्फ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको सञ्चित मुनाफा २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रहेको छ। मेटलाइफ इन्स्योरेन्सको सञ्चित २ अर्ब ५४ करोड रुपैयाँ रहेको तथ्यांकमा उल्लेख छ ।

बिमा शुल्क संकलन
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १४ वटा जीवन बिमा कम्पनीहरुले समग्रमा १ खर्ब ३८ अर्ब ५३ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेक छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५५ प्रतिशतले बढी हो।
सबैभन्दा धेरै बिमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बिमाशुल्क संकलन गरेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ३२ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।
नेशनल लाइफ इन्स्योरेन्सले १५ अर्ब ८९ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले १५ अर्ब १० करोड, हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ९३ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बिमा कम्पनीले ९ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।
वृद्धिदरतर्फ भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको बिमाशुल्क संकल ३९.१८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २५.१५ प्रतिशत तथा सिटिजन लाइफ इन्स्योरेन्सको २३.४० प्रतिशत वृद्धि भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको वृद्धि भने सबैभन्दा कम १.५९ प्रतिशत रहेको छ।

नाफा
जीवन बिमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नाफा रिलायबल नेपाल लाइफले ४७ करोड ४ लाख नाफा कमाएको छ । यो गत वर्षको भन्दा ०.९९ प्रतिशत धेरै हो । गत वर्षको चैतसम्म यस कम्पनीले ४६ करोड ५७ लाख कमाएको थियो । नेपाल लाइफले ४५ करोड ४८ लाख, नेसनल लाइफले ४१ करोड ६६ लाख, आइएमई लाइफले ३६ करोड ७९ लाख, सिटिजनले ३६ करोड, एसियन लाइफले ३४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ ।
सानिमा रिलायन्सले ३४ करोड ८ लाख, सन नेपालले ३४ करोड, सूर्य ज्योतिले ३३ करोड ३ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ३२ करोड ४ लाख, मेट लाइफले ३० करोड २५ लाख, प्रभु महालक्ष्मीले २७ करोड ५० लाख, हिमालयन लाइफले २६ करोड १४ लाख र सबैभन्दा कम राष्ट्रिय जीवन बिमाले ४० लाख १७ हजार रुपैयाँ नाफा कमाएका छन् ।



